काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् ।
महिला उद्यमी महासंघद्वारा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको बताए ।
‘तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ,’ उनले भने, ‘त्यसैले महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ । त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ ।’
सशक्तीकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएको उनले बताए । ‘सशक्तीकरण आजको दुनियाँमा शक्तिसँग जोडिएको छ । शक्ति अर्थसँग जोडिएको छ । आर्थिक रूपमा सशक्त नभई साँचो सशक्तीकरण हुन सक्दैन । यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ,’ उनले भने ।
प्रधानमन्त्रीले महिलाद्वारा सञ्चालित उद्योग र व्यवसायमा कर छुट र सहुलियतका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘भविष्यमा त्यसलाई बढाउँदै लगिनेछ,’ उनले भने ।
‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ,’ उनले भने ।