काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा डेढ खर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो ।
लगानी प्रतिबद्धता गत वर्षको यसै अवधिको तुलनामा बढेको छ । गत वर्षको फागुनसम्ममा १ अर्ब २७ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो ।
वैदेशिक लगानी प्रतिबद्धता पनि गत वर्षभन्दा बढेको छ । गत वर्ष फागुनसम्ममा २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । चालु आवमा सरकारले ३८ अर्ब विदेशी लगानी प्रतिबद्धता आउने लक्ष्य लिएको छ ।
फागुनसम्ममा स्वदेशी तथा विदेशी गरी २५८ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । यसमध्ये ठूला उद्योगको संख्या ३२ छ । त्यस्तै मझौला उद्योग २२ र साना उद्योगको २०४ वटा दर्ता भएका छन् ।
विभागले चालु आवभरमा ठूला ८०, मझौला ८५ र साना उद्योग २ सयवटा दर्ता हुने लक्ष्य लिएको छ । ठूला र मझौला उद्योगको लक्ष्य पूरा हुनेमा आशंका बढे पनि सानाको वार्षिक लक्ष्यभन्दा बढी उद्योग ८ महिनामै दर्ता भएका छन् ।
चालु आवको फागुनसम्म दर्ता भएका स्वदेशी उद्योगमा १८ हजार १५३ जनाका लागि रोजगारी सिर्जना हुने तथ्यांकमा उल्लेख छ । विदेशी लगानीतर्फ फागुनसम्म २५३ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगमा १३ हजार १६९ जनाका लागि रोजगारी सिर्जना हुनेछ ।
फागुनमा मात्र स्वदेशी लगानी प्रतिबद्धता २ अर्ब ६८ करोड र विदेशी लगानी प्रतिबद्धता ६ अर्ब ४७ करोड रुपैयाँ छ ।