• Menu

रोजगारीका लागि विदेश जाने युवालाई विमानस्थलमा अभद्र व्यवहार नगर्नु : गृहमन्त्री

नेपाल प्रफिट

२०८० चैत १३, १३:३८

रोजगारीका लागि विदेश जाने युवालाई विमानस्थलमा अभद्र व्यवहार नगर्नु : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विदेश जाने युवालाई विमानस्थलमा अभद्र व्यवहार नगर्न निर्देशन दिएका छन् ।

अध्यागमन विभाग कालिकास्थानमा ब्रिफिङ लिँदै मंगलबार गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने युवालाई विमानस्थलमा जाँदाआउँदा गरिने व्यवहार अमर्यादित र अभद्र हुन नहुने बताएका हुन् ।

युवालाई अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई उनले आग्रह गरे । ‘सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुहोला,’ उनले भने ।

विदेशीका लागि अध्यायमन देशको मुहार भएकाले मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा नबन्ने उनको भनाइ छ । ‘अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ । म निर्देशन होइन, सहकार्यमा विश्वास गर्छु,’ उनले भने ।

केही खराब मान्छेका कारण धेरै इमानदारले दोष पाउने गरेकाले खराबलाई बेलैमा चिनेर इमानदारलाई प्रोत्साहित गर्नुपर्ने लामिछानेले बताए । ‘अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनुपर्छ,’ उनले भने, ‘जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत साधन सम्पन्न बनाउन केही चुनौती छन् तर प्रयास जारी राख्नुपर्छ ।’

अध्यागमनकै कर्मचारी संलग्नतामा सुन तस्करी भएका घटनातर्फ इंगित गर्दै उनले हिजोका घटनामा कसैलाई दोषारोपण गर्न नचाहेको बताए । ‘तर भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुँदैन,’ गृहमन्त्री लामिछानेले भने, ‘दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।’

ब्रिफिङमा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए । विभागका महानिर्देशक कोषहरि निरौलाले विभागको काम कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।