• Menu

आईएचसीएलले भिभान्ता चितवन सञ्चालन गर्ने, काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा

नेपाल प्रफिट

२०८० चैत १३, १२:४३

आईएचसीएलले भिभान्ता चितवन सञ्चालन गर्ने, काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा

काठमाडौं । भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसीएलले जनाएको छ ।

भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल, न्यू बिजनेस एन्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आईएचसीएलको तेस्रो होटलका रुपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धि भएको बताइन् ।

‘देशका प्रमुख सहरी केन्द्रहरूमध्येको भरतपुर सहर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेशद्वार हो,’ उनले भनिन्, ‘भिभान्ता चितवन आईएचसीएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो । यस अवधिमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन् ।’

भिभान्ता चितवनले आफ्नो बेग्लै शैली र भावना प्रस्तुत गरेको छ । यस होटलमा अतिथिको सम्मानमा विशेष ध्यानपूर्वक निर्माण गरिएका ४५ कोठा छन् । यी प्रत्येक कोठा सुन्दर ढंगले सुसज्जित छन् ।

भिभान्ताका स्विटमार्फत पाहुनाले सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृष्य हेर्न सक्नेछन् । साथै, पाहुनाले होटलको मिन्टमा डिनरसहित विभिन्न खानाको स्वाद लिन सक्नेछन् भने होटलको बार ‘विंक’मा आरामका साथै भरपुर मनोरञ्जन पाउनेछन् ।

त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि होटलमा अत्याधुनिक फिटनेस सेन्टर र स्विमिङ पुल छ, जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृष्य देख्न सकिन्छ । होटलमा २४ सय वर्ग फिटमा फैलिएको सभाहल र बिजनेस सेन्टर पनि छ ।

नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुख व्यावसायिक केन्द्र हो । ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृष्यसम्मका विविध अनुभव दिने यस क्षेत्रले पर्यटकलाई आकर्षित गरिरहेको छ ।

सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘भिभान्ता चितवन थपिएपछि पाहुनाले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यको अनुभव लिन सक्नुहुनेछ,’ उनले भने ।

इन्डियन सब–कन्टिनेन्ट र मिडल इस्टमा चौधरी गु्रप र आईएचसीएलबीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एन्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एन्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताज जुमेराह लेक टावर्स, भारतमा ताज सफारी र नेपालमा मेघौली सेराई सञ्चालनमा छन् ।

सीजी हस्पिटालिटी ग्लोबलका बारेमा

दुई दशकभन्दा बढी गौरवपूर्ण इतिहास बोकेको सीजी हस्पिटालिटी ग्लोबलले टाटा समूहको आईएचसीएलसँग ताज एक्सोटिका रिसोर्ट एन्ड स्पा र माल्दिभ्सको ताज कोरल रिफ र कोलम्बोको ताज समुद्रमा लगानी गरेर आफ्नो आतिथ्य सत्कार व्यवसाय सुरु गरेको थियो । यो साझेदारी आज ५ देशका ११ होटलमा विस्तार भइसकेको छ ।

सीजी हस्पिटालिटीका अन्य साझेदारहरूमा अग्रणी होटल ब्रान्डहरू जस्तैः भारतमा फर्न होटल्स, श्रीलंकामा जेटविङ एन्ड सिलोन होटल्स ग्रुप, न्युयोर्कमा ¥याडिसन, केन्यामा फेयरमन्ट होटल रहेका छन् ।

सीजी हस्पिटालिटीसँग वेलनेस रिट्रिट, द फार्म इन फिलिपिन्स, जिंक, फर्न र बिकन जस्ता आफ्नै होटल ब्रान्ड पनि छन् । आज सीजी हस्पिटालिटीको पोर्टफोलियो १२ देशका ११४ गन्तव्यमा १० हजारभन्दा बढी कोठा क्षमताका साथ १७८ भन्दा बढी होटल र रिसोर्ट छन् ।

आईएचसीएलका बारेमा

आईएचसीएल भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी हो । प्रतिष्ठित आतिथ्य ब्रान्डहरु जस्तै ताज, भिभान्ता, सेलेक्युसन तथा जिन्जरमार्फत आईएचसीएलले विश्वस्तरीय सेवा दिइरहेको छ ।

आईएचसीएलले आफ्नो पहिलो होटल द ताज महल प्यालेस सन् १९०३ मा मुम्बईमा खोलेको थियो । हाल आईएचसीएलसँग १३ देशका १ सयभन्दा बढी स्थानमा ३०६ होटलहरूको पोर्टफोलियो छ ।