काठमाडौं । राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् ।
व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउन बन्दरगाह आइरहन्छन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ । यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो ।
समुद्रसँग सम्पर्क नभएको यसअघि बनेका १४ वटा सुक्खा बन्दरगाहमध्ये चोभार बन्दगाह सबैभन्दा अत्याधुनिक र सुविधायुक्त छ । प्रायः सबै बन्दरगाह भारत वा चीनको सीमामा बनेका र अध्यागमनसहितका भए पनि यो भने देशको प्रमुख बजार नजिक र मालसामान आयात–निर्यातसँग मात्र सम्बन्धित छ ।
यतिमात्र नभई बन्दरगाहको एक भागलाई व्यवसायीले सामान भण्डारण गरेर राख्न सक्नेगरी आन्तरिक गोदामका रूपमा सञ्चालन गरिएको छ ।
आयात–निर्यातका लागि अत्यावश्यक मानिएका ‘लोड–अनलोड’ गर्ने यन्त्र, तिनलाई राख्ने गोदाम र र्याक व्यवस्था गरेर यसअघि भन्सारमा सामानको सुरक्षा सम्बन्धमा उठ्ने गरेका गुनासोलाई सम्बोधन गर्न खोजिएको छ । साथै सिसिटिभी क्यामेरा, सुरक्षाकर्मी तथा कन्टेनरको व्यवस्थापन आधुनिक तवरले गरिएको छ ।
सामानको भन्सार जाँचपास प्रक्रियाका लागि सबै संयन्त्रका साथै बैंक सुविधा पनि यहीँ उपलब्ध छ । विगतमा हिमाल सिमेन्ट कारखाना रहेको सुक्खा बन्दरगाहमा पाँच सयवटा कन्टेनर राख्न सकिन्छ ।
द्रुतमार्गको प्रतीक्षा
बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउने हो भने देशमा भित्रिएका सामान वा निर्यात गरिने सामान अन्तर्राष्ट्रिय सीमाबाट बन्दरगाहसम्म सोझै आउने स्थिति तयार हुनुपर्छ ।
त्यसैगरी निर्यात गरिने सामान पनि बन्दरगाहको जाँचपछि सोझै देशबाट बाहिरिने अवस्था हुनुपर्छ । ‘अहिले त्यसो हुन सकिरहेको छैन,’ उनी भन्छन्, ‘अहिले देशमा आयातित सामान पहिला वीरगन्जलगायत सीमा कार्यालयमा रहेका भन्सार कार्यालयमा जाँचपास हुन्छन् र काठमाडौँ आइपुग्छन् । त्यसरी काठमाडौँ आइपुगेका सामानसहितका कन्टेनरलाई चोभार पुग्नु र पुनः त्यहाँबाट फर्काएर बल्खु हुँदै विभिन्न गन्तव्यतर्फ लैजान झन्झट नै छ ।’
द्रुतमार्ग सञ्चालनमा आएपछि अहिले आयात र निर्यातकर्ताले भोग्नुपरिरहेका झन्झट सकिने गजुरेल बताउँछन् । काठमाडौँसँग तराईलाई जोड्ने ७२ किलोमिटर लामो द्रुतमार्ग निर्माणाधीन छ ।
यो मार्ग सञ्चालनमा आएपछि सुक्खा बन्दरगाह नजिकबाट तराई (बाराको निजगढ) एक घण्टामा पुग्न सकिन्छ । यसले मालसामान ढुवानीका अधिकांश समस्याको समाधान गर्छ ।
द्रुतमार्गको निर्माण एकातर्फ भइरहँदा बन्दगाहको प्रयोग बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर व्यवसायीमैत्री ढंगले चलाउन थालिएको कार्यकारी निर्देशक गजुरेल बताउँछन् । यसका लागि गत वर्षसम्म बन्दरगाहलाई कार्यालय आफैँले व्यवस्थापन गरेकामा यस वर्षदेखि बोलपत्र आह्वान गरेर त्यसको व्यवस्थापन निजी क्षेत्रबाट हुन थालेको छ ।
ट्रान्स नेपाल टीआरएस लोजीपार्कले बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको छ । उक्त कम्पनीका प्रतिनिधि हरिश जोशीका अनुसार बन्दरगाहको प्रयोगका लागि निजी क्षेत्र क्रमशः उत्साहित बन्दै जान थालेको छ ।
लोजीपार्कले वार्षिक तीन करोड रुपैयाँ बुझाउने गरी बन्दगाहको व्यवस्थापन गरिरहेको छ । कार्यकारी निर्देशक गजुरेल यसलाई समृद्धिका लागि निजी क्षेत्रसँग गरिएको वास्तविक हातेमालो भन्न रुचाउँछन् ।
व्यवसायी उत्साहित
पहिलोपटक चोभार बन्दगाह प्रयोग गरेका व्यवसायी पनि उत्साहित छन् । इटालीबाट आयातित सामानको भन्सार जाँचपासका लागि त्यहाँ पुगेका एभेन्यु ट्रेड कन्सर्नका सञ्चालक विभोरकुमार अग्रवाल मुख्य कारोबार थलो (काठमाडौँ उपत्यका) नजिकै भन्सार जाँचपास गर्न पाउँदा सहज भएको बताउँछन् ।
‘यसअघि हामीलाई भन्सार जाँच प्रक्रिया सम्पन्न गराउन यहाँबाट वीरगन्ज गइरहनुपर्ने र सम्बन्धित ठाउँमा आफ्नो सामानबारे प्रस्ट पार्न नपाउने समस्या हुन्थ्यो,’ उनले भने, ‘चोभारबाटै भन्सार पास हुने भएपछि धेरै सजिलो भएको छ ।’
भन्सारसम्बन्धी सबै प्रक्रिया अपनाउँदा सीमा नाकाको भन्दा करिब १२ दिन चाँडो भन्सार जाँच भइसक्ने अनुभव उनले सुनाए ।