काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेका एआईआईबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआईआईबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए ।
‘नेपाललाई अझै पनि ऋणमा अझै सहुलियत आवश्यक छ तर एआईआईबीसँग यस्तो व्यवस्था छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईंहरू नीति निर्माता भएका नाताले यसमा पुनर्विचार गर्न आग्रह गर्छु ।’
नेपाल सरकार उच्च आर्थिक वृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।
नेपालमा हाल एआईआईबीको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गरे ।
‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र बंगलादेशमा समेत विद्युत् निर्यात गर्ने गर्ने ऐतिहासिक सम्झौताहरू भएका छन्, यसले नेपालको ऊर्जा व्यापारमा मार्गप्रशस्त गरेको छ,’ उनले भने ।
ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्भावना रहेको उनले जानकारी गराए । ‘हामी आगामी महिना लगानी सम्मेलन गर्दैछौँ, त्यसमा एआईआईबीले उच्च तहमा प्रतिनिधित्व गर्दै नेपालका प्राथमिकताका क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने मैले विश्वास लिएको छु,’ उनले भने ।
नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे । ‘लगानीका लागि अब नेपालमा नयाँ हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस्,’ उनले भने ।
भेटमा एआईआईबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशकहरू, उपाध्यक्ष एवं उच्च अधिकारीको सहभागिता थियो ।
सो अवसरमा प्रतिनिधि मण्डलका प्रमुख श्रीलंकाका आरएमपी रथनायकेले नेपाल संस्थापक सदस्यको रुपमा बैंकले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताए ।