काठमाडौं । प्रस्तावित बी एन्ड सी मेडिकल कलेजसम्बन्धी दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले आज (सोमबार) फैसला सुनाउने भएको छ ।
चैत ६ गते मंगलबार न्यायाधीश डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर आजका लागि निर्णय सुनाउने मिति तोकेको हो ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरेपछि प्रसाईंले सम्बन्धन पाएका थिएनन् ।
लामो समयको प्रयासपछि पनि सरकारले सम्बन्धन नदिएपछि प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारलाई विपक्षी बनाएर २०७७ साल असार २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
चैत ५ मा न्यायाधीशहरु डा. चुडाल र सुवेदीको संयुक्त इजलासमा बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरको मुद्दा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेर चैत ६ अन्तिम सुनुवाइ भएको हो ।
सञ्चालक प्रसाईंको मुद्दामा सर्वोच्चले अग्राधिकार प्रदान गरेको थियो । चैत ४ गते न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले प्रसाईंको मुद्दामा विषयको गाम्भीर्य र संवेदनशीलताका कारण अग्राधिकार दिने आदेश गरेको हो ।
उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै चैत ४ का लागि पेसी तोकिएको थियो ।