• Menu

कांग्रेसलाई रविको चुनौती : गगन थापाको क्षेत्रमा सार्वजनिक बहस गरौं, सहकारीको रकम ठगेको पुष्टि गर्नुस्

नेपाल प्रफिट

२०८० चैत १०, शनिबार २०:४८

कांग्रेसलाई रविको चुनौती : गगन थापाको क्षेत्रमा सार्वजनिक बहस गरौं, सहकारीको रकम ठगेको पुष्टि गर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका बचतकर्तालाई ठगेको पुष्टि गर्न नेपाली कांग्रेसलाई सार्वजनिक चुनौती दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले शनिबार बालहठ गरेर संसद अवरुद्ध नगर्न बरु कांग्रेस महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्रमा सार्वजनिक बहस गर्न चुनौती दिएका हुन् ।

सदनमा आफ्ना कुरा राख्न नपाएकाले सामाजिक सञ्जालमा राख्नुपरेको उनको प्रस्टोक्ति छ । ‘तपाईंहरु आफैं सरकारमा हामी प्रतिपक्षमा हुँदा तपाईंहरुले चरम दबाब दिँदासमेत प्रहरीले दर्ता गर्नसमेत योग्य नठानेको तर बुझिलिएर बिनादर्ता कतै राखिछाडेको ठाडो उजुरीबाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अवरुद्ध गर्नुपर्ने कारण के हो ?’ उनको प्रश्न छ ।

लामिछानेको स्टाटस

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु । तपाईंको पार्टीले म माथि कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ ।

म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें । तर, तपाईंहरुले प्रधानमन्त्रीको जवाफ माग्नु भो । प्रधानमन्त्रीको जवाफ पाएपछि अब फेरि तपाईंलाई संसदीय समिति चाहिएको छ ।

सम्मानित अदालतमा सूर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न  भएको जानकारी छैन । न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हुँ, न त्यहाँको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु ।

अदालतले हेरिरहेको सूर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन स्टप बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला ?

तपाईंहरु आफैं सरकारमा हामी प्रतिपक्षमा हुँदा तपाईंहरुले चरम दबाब दिँदासमेत प्रहरीले दर्ता गर्नसमेत योग्य नठानेको तर बुझिलिएर बिनादर्ता कतै राखिछाडेको ठाडो उजुरीबाहेक केही हैसियत नभएको चिर्कटो बोकेर सदन नै अवरुद्ध गर्नुपर्ने कारणबारे ‘एक बहस तो बन्ता है’ !

प्रमाण भेटिँदा बालकृष्ण खाणलाई घरबाट टिपेर लानुहुने तपाईंहरुले प्रमाण पाएको भए मलाई यतिका समय, के माया लागेर छोड्नुभएको हो र ? म त प्रतिपक्षमा थिएँ । सक्दो गर्नुभो, केही नलागेपछि Conflict of Interest भए पनि Create गरौं भनेर यो सब प्रपञ्च गर्नु भो ।

त्यसैको आडमा सारा हर्कत गर्दै हुनुहुन्छ । This is not CONFLICT OF INTEREST, This is  A PRINCIPLE OF CREATING CONFLICT OF INTEREST.

नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ । यस्तो स्तरहीन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्‍याउला ?

आफूमाथि निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं ?

मेरो जवाफ सुन्न नचाहने/नसक्ने तपाईंहरुलाई मेरो विनम्र अनुरोधसहितको अफर  सार्वजनिक गर्दैछु ।

तपाईंहरुले भनेको दिन, स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं । त्यो बहस काठमाडौं-४ मा भए राम्रो । म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनु होला ।

यो बहस LIVE गरौं ताकि सिङ्गो देशले हेरोस् । सारा देशका अगाडि तपाईंहरुले मलाई  सूर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नुहोला । तपाईंका कुरा तपाईं जान्नुहोस्, मैले त मेरा मतदातामाथि न्याय गर्नैपर्छ । जवाफ दिनैपर्छ ।

मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहीँ, कतै, केही लेख्न बोल्न पर्दैन । दायाँ–बायाँ केही कुरा नगर्नु होला । बस् ! तपाईं मलाई यतिमात्र भन्नुस्, म कहिले र कहाँ तपाईंका आरोपहरुको जवाफ दिन आऊँ ?

होइन भने छाडिदिनुस् यो बाल हठ । मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिन पनि आवश्यक छैन । सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस् । हामी माथि रचनात्मक दबाब बढाउनुस् ।

भर्खर जन्मेको दल भए पनि एक वर्षमा शायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौं । त्योभन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस् । यस्तो स्तरहीन हर्कतले कुनै नेताको कुण्ठा शान्ता होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठालाई शोभा दिँदैन ।

सूर्यदर्शन सहकारीका पीडितलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु । संघर्ष समितिसँग त आफ्ना कुरा राखिसकेको छु । प्रस्ट हुनुस् : सहकारी पीडितले न्याय पाउँछन् ।