• Menu

आईएमई लिमिटेड र वानप्वाइन्टबीच रेमिट स्विचको डिजिटाइजेसन सम्झौतामा हस्ताक्षर

नेपाल प्रफिट

२०८० चैत ८, १४:५१

आईएमई लिमिटेड र वानप्वाइन्टबीच रेमिट स्विचको डिजिटाइजेसन सम्झौतामा हस्ताक्षर

काठमाडौं । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम- एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिट्यान्ससम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।

समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आईएमई लिमिटेडलाई वानप्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यासअनुसार सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विचमार्फत ओपन एपीआई स्ट्यान्डर्ड फलो गरिनेछ ।

आईएमई लिमिटेडमार्फत प्रदान गरिने एपीआईको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूका लागि खुला परीक्षणको वातावरणसमेत पनि प्रदान हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपीआई स्ट्यान्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमईले वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यसमार्फत एपीआई इन्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदार आफैँ सिस्टम इन्टिग्रेसन प्रक्रियामा अगाडि बढ्न सक्नेछन् ।

रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमईले परम्परागत रेमिट्यान्स सेवालाई अझै सहज तथा परिष्कृत गर्दै लैजान नयाँ–नयाँ प्रविधिलाई पछ्याउँदै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल सावित गरेको छ ।

आईएमई लिमिटेडका सीईओ खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसात् गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिट्यान्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास लिएको बताए ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वानप्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लाटफर्म उपलब्ध गराउँदै आएको छ ।

नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आईएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत आईएमईले विदेशमा कार्यरत नेपालीले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।