• Menu

राजस्व अनुसन्धान विभागद्वारा ४० करोड राजस्व छली आरोपमा ७९ करोड मागदाबीसहित मुद्दा दायर

नेपाल प्रफिट

२०८० चैत ६, १०:३०

राजस्व अनुसन्धान विभागद्वारा ४० करोड राजस्व छली आरोपमा ७९ करोड मागदाबीसहित मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झन्डै ४० करोड रुपैयाँबराबरको मालवस्तु चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको छ । उनीहरूविरुद्ध १२ करोड ८५ लाखभन्दा बढी बिगोबराबरको राजस्व छली गरेको निष्कर्ष निकाल्दै बिगोबराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग गरी सोमबार मुद्दा दर्ता गरिएको हो ।

उक्त ट्रेडर्सको कारोबारसम्बन्धी कागजात तथा विरणहरुको विश्लेषण गर्दा २०७९ भदौ देखि २०८० भदौसम्ममा भीसीटीएस प्रणालीमा प्रविष्टि गरेको विवरणमा ६ लाख ४९ हजार चार सय रुपैयाँबराबरको मालवस्तु खरिद गरेको देखिएको छ ।

तर, भन्सार प्रज्ञापन पत्रलगायतका अन्य विश्वसनीय स्रोतबिना नै करोडौँका मालवस्तु बिक्री गरेको देखिएको अधिकारीले बताए । उक्त ट्रेडर्सले भन्सार चोरीपैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको पाइएको विभागले बताएको छ ।

यस्तै विभागले अन्य प्रतिवादीहरु गुरु इम्पेक्सका प्रोपाइटर सीताराम रौनयार, शुभश्री इन्टरप्राइजेजका रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका मीराकुमारी श्रीवास्तव र एसपी कन्सर्नका प्रभुशंकर रौनियार न्यु एस कुमार इन्टरनेसनलका रामछत्री कलवारले गरेको कारोबारका सम्बन्धमा पनि छानबिन गरेको थियो ।

छानबिनका क्रममा राहुल दुवेदीसहितका ती फर्मका प्रोपाइटरहरु तथा भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा ठूलो परिमाणको मालवस्तु भन्सार छली मालवस्तु नेपाल भित्र्याइ चोरीपैठारी गरेको पाइएको विभागको निष्कर्ष छ ।

विभागले प्रयोगमा ल्याएको भीसीटीएस प्रणालीमा राहुलकुमार दुवेदीले प्रविष्ट गरेको विवरण र आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त भ्याट रिटर्न अनुसन्धान तथा विष्लेषणमा विभागले उक्त तथ्य पत्ता लगाएको हो ।

भन्सार छली तथा मालवस्तु चोरी पैठारीको आरोपमा विभागले राहुलकुमार दुवेदीबाट १७ करोड ३८ लाख, सीताराम रौनियारबाट एक करोड ८२ लाख र रिजवान अन्सारीबाट हकमा दुई करोड ११ लाख बिगो बराबरको भन्सार छली भएको विभागको आरोप छ ।

त्यस्तै,  मीराकुमारी श्रीवास्तवबाट दुई करोड ११ लाख, प्रभुशंकर रौनियारबाट एक करोड ७८ लाख र रामछत्री कलवारबाट एक करोड ७७ लाख बिगोबराबरको भन्सार छली गरेको निष्कर्षसहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।