काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितका समस्या तत्काल सुनुवाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गरेको छ ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग फागुन १८ मा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गर्न ४ बुँदे सहमति भएअनुसार गृह मन्त्रालयले हेल्प डेस्क स्थापना गरेको हो ।
मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
‘त्यसका लागि सहजीकरण डेस्क स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीको विवरण (नामथर, पद, इमेल, सम्पर्क नं., मोबाइल नं. तथा अन्य सम्पर्कका माध्यम) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरुमा पठाइसकिएको छ,’ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ
त्यस्तै मिटरब्याजसम्बन्धी पीडितका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय र अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।
