काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएका छन् ।
फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूना प्रविधि शाखा र मन्त्रालयकै सूचना प्रविधि परामर्शदातासँग आइतबार छलफल गर्दै मन्त्री अर्यालले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीमा सुधार गर्न निर्देशन दिएका हुन् ।
वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ । तर, प्रणालीमा समय–समयमा समस्या आउने कारण श्रमिकहरु अप्ठ्यारोमा पर्ने गरेका छन् ।
प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नुपरिरहेको छ । यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएका हुन् ।
मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिएका छनु ।
‘तपाईंहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा विकल्प खोजेर भए पनि एक महिनाभित्रमा एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु,’ आपूर्तिकर्तासँग छलफल गर्दै उनले भने ।
मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ । फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो ।
सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाइन टोकन र श्रम स्वीकृति प्रदान गर्न सफ्टवेयर खरिद गरेको थियो ।