काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राम्रो काम गर्ने जोकोहीलाई सरकारले सहयोग गर्ने बताएका छन् ।
विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको भेटमा अर्थमन्त्री पुनले कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकाले निर्धक्कसँग काम गर्न मन्त्री पुनले सुझाव दिए ।
मन्त्री पुनले देशको अर्थतन्त्रको सर्वांगिण विकासका लागि विकास बैंकहरुले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।
त्यसअघि एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा गएको बैंकरहरुको टोलीले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पुर्याएको योगदानबारे जानकारी गराएका थिए ।
भेटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीबारे छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बताए ।