काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा व्यापक प्रचारप्रसार गर्न र लाभबारे जानकारी गराउन निर्देशन दिएका छन् ।
शुक्रबार कोषको काम कारबाहीका विषयमा कार्यालयमै पुगेर जानकारी लिएका मन्त्री अर्यालले कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनभिज्ञ रहेको बताए ।
‘सबै जनता शिक्षित छैनन्, सबैले पत्रिका पढ्न र टेलिभिजन हेर्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले जुन माध्यमबाट सूचना दिँदा सबै जनतामा पुग्छ, त्यही माध्यमको प्रयोग गरी यसबारे जनचेतना जगाउनुपर्छ ।’
कोषको काम गर्न आवश्यक स्रोत, साधन र विज्ञताबारे आफूलाई जानकारी गराउन उनले आग्रह गरे । ‘के आवश्यक पर्छ, जानकारी गराउनुस्, मन्त्रालयले उपलब्ध गराउँछ, कसरी हुन्छ योजना बनाएर परिणाम आउने गरी काम गर्नुहोस्,’ मन्त्री अर्यालले भने ।
कोषका उच्च पदस्थ कर्मचारीसँगको छलफलपछि उनले कम्तीमा पनि एक वर्षको कार्ययोजना बनाएर काम गर्न सुझाव दिए । ‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्यांकन गरौं,’ उनले भने ।