• Menu

काठमाडौं उपत्यकामा एक हप्तामै १७ हजार ट्राफिक उल्लंघनका घटना

नेपाल प्रफिट

२०८० चैत २, शुक्रबार १८:२८

काठमाडौं उपत्यकामा एक हप्तामै १७ हजार ट्राफिक उल्लंघनका घटना
फाइल तस्बिर

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लंघनका घटना दर्ता भएको जनाएको छ ।

कार्यलयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ देखि चैत १ सम्म १७ हजार ४६४ सवारी साधन कारबाहीमा परेको जानकारी दिए । ‘ट्राफिक नियम पालना नगर्नेलाई कारबाही गरिएको छ । सवारी चलाउँदा कहिल्यै पनि प्रतिस्पर्धाको भावनाबाट चलाउनुहुँदैन । सडक अनुशासन पालना गरौँ,’ उनले भने ।

उनले ट्राफिक नियम पालना नगरेकालाई नियमित सचेतना कक्षा सञ्चालन गरिरहेको बताए । सबैभन्दा बढी कारबाही तीव्रगतिमा सवारी साधन चलाउँदा भएको देखिन्छ ।

एक हप्तामा तीव्रगतिमा सवारी साधन चलाउने दुई हजार ७५८ चालक कारबाहीमा परेका छन् । कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार लेन अनुशासन उल्लंघनमा ७६६, मादक पदार्थ सेवन गरेका ६४०, रेडलाइट नियम पालना नगरेका ५८० र बढी भाडा लिएका ९ चालकलाई कारबाही गरिएको छ ।

त्यसैगरी काठमाडौँ जिल्लामा मात्रै १०४ वटा सवारी दुर्घटना दर्ता भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । ती दुर्घटनामा साधारण घाइतेको संख्या भने १०४ छ ।

ट्राफिक नियम पालना नगर्नेलाई कार्यालय जनचेतना तथा सचेतना कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । विद्यार्थी, पैदलयात्रु, व्यवसायी, चालक, परिचालक, लेन मिच्ने तथा मापसे गरी चलाएका चालक गरी सो अवधिमा चार हजार ७५९ जनाले सचेतना कक्षा लिएका छन् ।