काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि इजरायली राजदूत हनान गोडेरबीच निर्माण, पर्यटन र कृषिमा नेपाली श्रमिक लैजाने विषयमा छलफल भएको हो ।
श्रम मन्त्रालयमा भएको भेटमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा राजदूत गोडेरले मन्त्री अर्याललाई जानकारी गराएका छन् ।
छलफलमा इजरायलमा कार्यरत रहँदा इजरायल गाजा क्षेत्रमा जारी द्वन्दका क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत मासिक भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारको निर्णयबारे पनि राजदूतले श्रममन्त्रीलाई जानकारी गराएका छन् ।
इजरायलबाट विभिन्न क्षेत्रमा प्राप्त मागका आधारमा नेपाली श्रमिकई पठाउने विद्यमान प्रकियालाई आगामी दिनमा छिटोछरितो र सरलीकृत गर्दै लगिने विषयमा पनि छलफल भएको छ । मन्त्री अर्याललाई भेट्न राजदूत गोडेर शुक्रबार अपराह्न मन्त्रालय पुगेका थिए ।