काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ठगी गरेको प्रमाण ल्याए २४ घण्टाभित्र कारबाही गरिने बताएका छन् । कोरिया रिटर्नीहरुसँग शुक्रबार मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले श्रमिकलाई कुनै पनि बहानामा कसैले ठगी गरेमा तत्काल कारबाही गरिने बताएका हुन् ।
कोरिया रिटर्नीहरुको समस्या सम्बोधनका लागि फास्ट ट्रयाकमा प्रक्रिया अघि बढाइने पनि उनले स्पष्ट पारे । ‘तपाईंहरुका समस्याका विषयमा सम्बन्धित निकायसँग बसेर छलफल गर्नेछु । आवश्यक परेमा तपाईंहरुलाई नै राखेर छलफल गराउँछु,’ मन्त्री अर्यालले भने ।
कोरिया रिटर्नीहरुले कोरिया जाने श्रमिकहरु ईपीएसका कर्मचारीबाट ठगिएको गुनासो गरेका थिए । त्यस्तै, उनीहरुले रोस्टरमा रहेका रिटर्नी तथा महिलाहरुको फाइल कोरियाको रोजगारदातासम्म पुर्याउनुपर्ने र गत असार १० गते ईपीएस नेपाल रिटर्नीहरुसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने पनि माग गरे ।
साउन १२ गते ईपीएस नेपाल र रिटर्नीहरुबीच भएको सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने तथा ईपीएस नेपालको ज्यादति र लुटतन्त्रलाई सुधार गर्नुपर्ने बताएका थिए ।