काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा तीन नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटना विषयमा जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी उनले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।
दूतावासका अनुसार दुर्घटनामा परी काठमाडौं सानो भर्याङका सुजन कार्की, अछामको पञ्चदेवल विनायक नगरपालिका लयाटीका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको छ ।
अर्यालले मृतक श्रमिकको शव तत्काल नेपाल फर्काउन कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन् । साथै, दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएका छन् ।
कुवेतस्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिका लागि घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको जनाएको छ ।
मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन नेपाली श्रमिकको घटनास्थलमै मृत्यु भएको थियो ।