काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहितका १० बैंकर हाजिरी जमानीमा छुटेका छन् । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई हरेक दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) उपस्थित हुने गरी हाजिरी जमानतमा छाडिएको हो ।
अनुसन्धानको काम करिब सकिएकाले उनीहरुलाई कागज गरेर नेपाल बैंकर एसोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको सीआईबीले जनाएको छ ।
सीआईबीले फागुन १५ मा न्यौपानेसहित तत्कालीन सेन्चुरी बैंकका सीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।
सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँबराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओका रुपमा कार्यरत थिए ।