काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ । अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारी र सेजन अध्यक्ष सुजन ओलीले बुधबार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयमा संयुक्त रुपमा अध्ययन एवं अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालन, ज्ञानको आदानप्रदानका लागि दुई संस्थाले सहकार्य गर्नेछन् ।
त्यसैगरी, बौद्धिक, प्राज्ञिक एवं अनुसन्धानात्मक कार्यमा सहकार्यसँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने पनि सम्झौता पत्रमा उल्लेख छ ।
विभागले गरेका अध्ययन अनुसन्धानका नतिजाको तथ्यपरक विश्लेषणसहित नीति निर्माता र सर्वसाधारणसम्म पुर्याउन सेजनले भूमिका खेल्नेछ भने आर्थिक पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि तालिम, अनुसन्धानलगायतका कार्यमा विभागले समन्वय, सहकार्य एवं सहयोग गर्नेछ ।
सम्झौता पत्रमा हस्ताक्षरपछि विभाग प्रमुख अधिकारीले अर्थतन्त्रका विविध आयामसँग जोडिएका विषयमा तथ्यपरक अनुसन्धान, तटस्थ विश्लेषण र त्यसको नतिजामुखी प्रयोगका लागि दुई संस्थाबीच सहकार्य गर्न लागिएको बताए ।
तथ्यमा आधारित र कार्यान्वयनयोग्य नीति निर्माणका लागि पैरवी गर्ने समान उद्देश्यसाथ विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानका लागि दुवै संस्थाले संयुक्त रुपमा भूमिका खेल्ने उनको भनाइ छ ।
आर्थिक विधामा कलम चलाइरहेका सञ्चारकर्मीको क्षमता विकाससँगै विभिन्न अनुसन्धानमा आधारित सूचना तथा तथ्यांक प्राप्ति र त्यसको सही प्रयोगका लागि अर्थशास्त्र केन्द्रीय विभागसँग सहकार्य भएको धारणा सेजन अध्यक्ष ओलीले राखे ।
सेजनले विभिन्न अध्ययन अनुसन्धानसँगै अर्थतन्त्रसँग जोडिएका सार्वजनिक विषयमा बहस, छलफल, अन्तरक्रिया, ‘नलेज सिरिज’ लगायत कार्यक्रम चलाइरहेको उनले बताए ।
अध्यक्ष ओलीले विभागसँगको सहकार्यबाट यी क्षेत्रमा थप प्रभावकारी रुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे । विभागले गरेका अध्ययन अनुसन्धानका नतिजा आर्थिक पत्रकारहरुका लागि समाचार तथा सूचनाको स्रोतसमेत रहेको उनले उल्लेख गरे ।