• Menu

प्रविधि प्रयोगमा पछि परे केही वर्षभित्र सहकारी नै रहँदैनन् : डा. युवराज खतिवडा

नेपाल प्रफिट

२०८० चैत १, १५:१५

प्रविधि प्रयोगमा पछि परे केही वर्षभित्र सहकारी नै रहँदैनन् : डा. युवराज खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकाले अब सहकारी पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा ‘कि नोट’ दिँदै उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकका शाखा र नोटको कारोबारको पनि कम हुँदै गएकाले सहकारीहरु पनि अब त्यसको तयारीमा लाग्नुपर्ने बताए ।

‘जसले नोट बोक्छ, उसले सँगै जोखिम पनि बोक्छ,’ उनले भने, ‘अब एटीएम मेसिनको अस्तित्व सकियो । अब नोटको प्रयोग नै हुँदैन । नोट बोकेका छौं भने जोखिम बोकेका छौं । अहिले बैंक ब्रान्चलेस भइसके । सहकारीमा पनि अब सेवा केन्द्र आवश्यक छ कि छैन भन्ने बुझ्नुपर्छ ।’

सहकारीको कारोबार डिजिटल हुन सक्यो भने पारदर्शिता कायम भई क्रमश: समस्या समाधान हुने अर्थविद् डा. खतिवडाले बताए । सहकारी वित्तीय कारोबारमात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको उनले स्पष्ट पारे ।

कारोबार भौतिक रूपमा नभए पनि सदस्य भने भौतिक रुपमा उपस्थित हुनुपर्ने धारणा उनको छ । ‘केन्द्रीय बैंकबाट डिजिटल करेन्सी निकाल्ने कुरा आइरहेको छ । राष्ट्र बैंकले छिटो डिजिटल करेन्सी ल्याउनुपर्छ । भुक्तानी गर्न पर्‍यो भने राष्ट्र बैंकको वेबसाइटमा गएर कारोबार गर्नुपर्छ,’ उनले भने ।

यस्तै, उनले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्ने बताए । ‘अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्नुपर्छ । कारोबार स्मार्ट हुनुपर्छ । सबैको आफ्नै मोबाइल एप हुनुपर्छ । यो काम गर्न सकेनन् भने सहकारीको अस्तित्व नै नामेट हुन्छ,’ उनले भने ।

उनले बहुद्देश्यीय सहकारीको काम नभएको तर्क दिएका छन् । एउटामात्रै काम गरेर बहुद्देश्यीय सहकारी भन्न नमिल्ने उनले बताए ।

सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिबारे जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको डा. खतिवडाले बताए । साधारण सभाको सूचनामा कार्यालयको ढोकामा टाँस्ने र घरमा पत्र पठाउने चलनको अन्य हुनुपर्ने उनले स्पष्ट पारे ।

‘कतिपय सहकारीको साधारण सभा सकिएपछि सदस्यले सूचना पाउने गरेका छन्, यो राम्रो होइन,’ उनले भने । समाजमा इन्टरकनेक्ट हुनका लागि पनि प्रविधिमा जान आवश्यक रहेको उनको तर्क छ ।

सन् २०३० सम्मको सहकारी कस्तो हुने, कस्ता प्रविधिको प्रयोग गर्ने र सदस्यलाई सेवा दिने भनेर सोच्ने बेला आइसकेको उनले जनाए । उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्ने सहकारीबाहेकका सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी भएको उनले बताए ।

सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको उनले स्पष्ट पारे । उनले नाफामुखी एवं सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी काम नभएको बताए । सामाजिक पुँजी निर्माण गरी सदस्य केन्द्रित संस्था समाजमा आवश्यक रहेको उनको भनाइ छ ।