• Menu

प्रधानमन्त्री भन्छन्- उत्पादन, रोजगारी, पुँजीगत खर्च र निर्यात बढाउन सकिएन तर आर्थिक सूचकहरू सकारात्मक भए 

नेपाल प्रफिट

२०८० फागुन ३०, बुधबार ११:४५

प्रधानमन्त्री भन्छन्- उत्पादन, रोजगारी, पुँजीगत खर्च र निर्यात बढाउन सकिएन तर आर्थिक सूचकहरू सकारात्मक भए 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफू सुरुदेखि नै अनवरत रूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचक राम्रा हुँदै गएको बताए ।

‘चालु आर्थिक वर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले शोधनान्तर बचत छ,’ उनले भने, ‘विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई झन्डै १८ खर्ब ४५ अर्ब रुपैयाँबराबर पुगेको छ ।’

व्यापार घाटा १.८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फीति ५.१ प्रतिशतमा सीमित गरिएको बताए । उनले कर्जा प्रवाह ४.७ प्रतिशतले बढेको उल्लेख गरे ।

‘विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पुँजीगत खर्च पनि अपेक्षाअनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्नेछ ।’

उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।

बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको आधार दर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताए । ‘व्यापार घाटामा कमी आएको छ तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढेको छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।’