काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमतिमा टुंगिएको हो ।
सहमतिसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ । सहमतिको जानकारी गराउन गृहमन्त्री लामिछाने मिटरब्याज पीडित बसिरहेको स्थान (भृकुटीमण्डप) पुगेका छन् । उनले मिटरब्याज र ठगीको समस्या सधैंका लागि अन्त्य गर्न चाहेको बताए ।
झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिँडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर प्रदर्शनमा थिए । सरकारले समस्या समाधानमा खासै चासो नदेखाएपछि मिटरब्याज पीडितले बालुवाटार केन्द्रित प्रदर्शन गर्दै आएका थिए ।

