काठमाडौं । नेपालका अधिकांश वाणिज्य बैंकहरुको प्रतिफल (रिटर्न अन इक्विटी- आरओई) कुनै बेला २० प्रतिशतभन्दा माथि हुन्थ्यो । तर, बैंकहरुबीचको अस्वस्थ र तीव्र प्रतिस्पर्धा, ४ प्रतिशतमा सीमित गरिएको स्पेड रेट र आर्थिक सुस्तताका कारण औसत प्रतिफल ८.९७ प्रतिशतमा झरेको छ ।
बैंकहरुले प्रकाशित गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार आठवटाको प्रतिफल १० प्रतिशतभन्दा माथि छ भने दुईवटाको मात्र १५ प्रतिशतभन्दा माथि छ ।
सबैभन्दा बढी प्रतिफल स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । पुँजी १९ अर्ब ३८ करोड रुपैयाँ रहेको स्ट्यान्डर्ड चार्टर्डले चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुस मसान्त)मा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ । यस हिसाबले कम्पनीको प्रतिफल १९.६१ प्रतिशत हुन आउँछ ।
त्यस्तै, दोस्रो धेरै प्रतिफल प्राइम बैंकको १६.१२ प्रतिशत छ । पुँजी २९ अर्ब ३४ करोड रुपैयाँ रहेको कम्पनीको पुससम्मको खुद नाफा २ अर्ब १८ करोड रुपैयाँ छ ।
अरु सबै वाणिज्य बैंकको प्रतिफल १५ प्रतिशतभन्दा कम छ । २५ अर्ब ८४ करोड पुँजी रहेको एभरेस्ट बैंकले चालु आवको पुससम्ममा १ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ भने कम्पनीको प्रतिफल १४.२४ प्रतिशत छ ।
त्यसैगरी, आवासीय कर्जा समायोजन गरेर वासेल रिपोर्ट मिलाएको आरोप लागेको एनआईसी एसिया बैंकको प्रतिफल १३.३१ प्रतिशत छ । पुँजी ३० अर्ब ६० करोड रहेको कम्पनीले चालु आवको पहिलो ६ महिनामा १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ ।
नेपालका एकमात्र अर्बपति उद्यागी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी अध्यक्ष रहेको नबिल बैंकको प्रतिफल १२.३३ प्रतिशत छ । पुँजी ५५ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीले ६ महिनामा ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ ।
पुँजी १७ अर्ब ७० करोड रुपैयाँ रहेको सानिमा बैंकको प्रतिफल १२.३ प्रतिशत छ । यो बैंकले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्थाको नेतृत्व गरिरहेका सुनिल केसी सीईओ रहेको एनएमबी बैंकको पुँजी २७ अर्ब ९३ करोड रुपैयाँ छ । चालु आवको ६ महिनामा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको यो बैंकको आरओई १०.३९ प्रतिशत हुन आउँछ ।
पुससम्ममा १० प्रतिशतभन्दा बढी प्रतिफल कमाउन सफल बैंकमा माछापुच्छ्रे पनि पर्छ । माछापुच्छ्रे बैंकको प्रतिफल १०.०७ प्रतिशत छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम १६ अर्ब ८५ करोड पुँजी रहेको माछापुच्छ्रेले ६ महिनाको अवधिमा ८१ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
लगानीमा प्रतिफल १० प्रतिशतभन्दा कम रहेका बैंक १२ वटा छन् । तीमध्ये सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको प्रतिफल ९.६५ प्रतिशत छ । पुँजी १८ अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकले ६ महिनामा ८४ करोड रुपैयाँ नाफा गरेको छ ।
त्यस्तै सिद्धार्थ बैंकको प्रतिफल ९.२६ प्रतिशत छ । कम्पनीको पुँजी २५.७५ प्रतिशत छ भने बैंकले ६ महिनामा १ अर्ब १४ करोड नाफा कमाएको छ ।
सिभिल बैंकलाई मर्ज गरेको हिमालयन बैंकको प्रतिफल पनि निकै कमजोर छ । पुँजी ३५ अर्ब १२ करोड रुपैयाँ रहेको बैंकले ६ महिनामा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । यस हिसाबले बैंकको प्रतिफल ८.९७ प्रतिशत हुन आउँछ ।
सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रतिफल ८.०७ प्रतिशत छ । पुँजी ३५ अर्ब ३ करोड रुपैयाँ रहेको कृषि विकास बैंकले ६ महिनामा १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
सरकारी स्वामित्वकै अर्को राष्ट्रिय वाणिज्य बैंक पनि निकै कम प्रतिफल दिने कम्पनीमा परेको छ । पुँजी ५३ अर्ब २८ करोड रहेको राष्ट्रिय वाणिज्य बैंकले ६ महिनामा २ अर्ब २ करोड रुपैयाँ कमाएको छ । यस हिसाबले कम्पनीको प्रतिफल ७.८८ प्रतिशत हुन आउँछ ।
त्यस्तै सिटिजन्स बैंकको प्रतिफल ७.८६ प्रतिशत छ । पुँजी २० अर्ब ७६ करोड रुपैयाँ रहेको सिटिजन्सले ६ महिनामा ७८ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नै अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकको प्रतिफल पनि निकै कम छ । राष्ट्र बैंकको मर्जर नीतिपछि २० भन्दा बढी संस्थालाई सफल रुपमा आफूमा गाभेको ग्लोबल आईएमईको प्रतिफल ७.४७ प्रतिशत छ । ५६ अर्ब ८७ करोड रुपैयाँ पुँजी रहेको ग्लोबल आईएमईले चालु आवको पहिलो ६ महिनामा २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ ।
वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा उच्च ५८ अर्ब २५ करोड रुपैयाँ पुँजी रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रतिफल ६.४ प्रतिशत छ । पुससम्ममा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, लक्ष्मी र सनराइन बैंक मिलेपछि ३८ अर्ब ६४ करोड पुँजी भएको लक्ष्मी सनराइज बैंकले ६ महिनामा १ अर्ब ६ करोड खुद नाफा कमाएको छ । यस हिसाबले कम्पनीको प्रतिफल ५.६५ प्रतिशत हुन आउँछ ।
पुछारका तीन बैंकमा कुमारी, प्रभु र नेपाल बैंक परेका छन् । तिनै कम्पनीको प्रतिफल ५ प्रतिशतभन्दा तल छ । कुमारी बैंकको प्रतिफल ४.९७ प्रतिशत, प्रभुको ४.६५ र नेपाल बैंकको प्रतिफल ३.२४ प्रतिशत छ ।
चालु आवको पहिलो ६ महिनामा ३५ अर्ब ८८ करोड पुँजी रहेको कुमारीले ८७ करोड, ३१ अर्ब ७९ करोड पुँजी रहेको प्रभुले ७२ करोड र ३७ अर्ब ११ करोड पुँजी रहेको सरकारी स्वामित्वको नेपाल बैंकले ५९ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।
वाणिज्य बैंकहरुको कुल पुँजी (सेयरधनीको लगानी) ६ खर्ब ७१ अर्ब ७३ करोड रुपैयाँ छ । पुससम्ममा सबै बैंकले २८ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal