काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपका क्रममा एक महिला सशस्त्र प्रहरी घाइते भएकी छन्। प्रदर्शनकारीको आक्रमणमा परेर उनको टाउको फुटेको छ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा स्थिति नियन्त्रणभन्दा बाहिर गएको थियो। प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेपछि झडप सुरु भएको हो।
राजावादी समर्थकहरूको आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीहरूले ढुंगामुढा र आगजनी गरेका छन्। सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारेका छन्।
प्रदर्शनका कारण तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ भने सर्वसाधारण त्रसित भएका छन्। अधिकारीहरूले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।