काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यो वर्ष २०८२ वैशाख २५ देखि २९ सम्म काठमाडौंमा हुने भएको छ । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता हुने भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दसौँ संस्करण हो । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहनेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्धन केन्द्रको प्रवर्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना हुन लागेको महासंघले जनाएको छ ।
तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापानलगायत देशका क्रेतालाई पनि आमन्त्रण गरिनेछ ।
महासंघका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरु, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (ईभी) गाडीसमेत रहनेछ । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्यसमेत रहेको महासंघले जनाएको छ ।
मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टल रहनेछन् ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्धन तथा लगानीबारे छलफल हुनेछ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा छ ।
महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरु जस्तै मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने विश्वास महासंघले लिएको छ ।
मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिएको छ । २०८१ चैत ११ बाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ ।