काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा २४ घण्टामै साढे ५ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको छ । पहिलोपल्ट बुक बिल्डिङ विधिबाट आइतबार सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा सोमबार बिहान १० बजेसम्ममा ५ अर्ब ६८ करोड ४ लाख ६१ हजार ३३९ रुपैयाँबराबरको आवेदन परेको हो ।
फागुन १३ देखि सर्वसाधारणका लागि खुला भएको आईपीओमा १६ गतेसम्म आवेदन दिन सकिन्छ । फागुन १६ सम्ममा मागअनुसार आवेदन नपरे समय थप गर्न सक्ने व्यवस्था छ । तर, सर्वोत्तमको आईपीओमा २४ घण्टामै साढे ५ गुणा बढी आवेदन परेको छ ।
बिहान १० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार सर्वोत्तमको आईपीओमा २ लाख ८६ हजार ५२२ जनाले १ करोड ५७ लाख ३९ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँको सेयर जारी गरेको हो । अंकित मूल्य १०० रुपैयाँ भए पनि सर्वसाधारणले एक कित्ताका लागि ३६० रुपैयाँ ९० पैसामा सेयर किन्नुपर्नेछ । बुक बिल्डिङ विधिबाट सेयर जारी गर्दा सो मूल्य तय भएको हो ।
कम्पनीले बिक्रीका लागि छुट्याएको मध्येबाट २७ लाख ७६ हजार ७६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा न्यूनतम् ५० कित्ता र अधिकतम् १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिन कम्तीमा १८ हजार ४५ रुपैयाँ आवश्यक पर्छ ।