काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) फागुन १३ देखि सर्वसाधारणका लागि खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित बासिन्दाले नकिनेको सेयरसमेत थप गरेर सर्वसाधारणका लागि आवेदन खुला गर्न लागेको हो ।
बुक विल्डिङ बिधिबाट आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बाँडफाँट भइसकेको छ । कम्पनीले पुस २५ देखि माघ २५ सम्म नवलपरासीको प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेकोमा एक हजार २२४ स्थानीयले २ लाख ४८ हजार ५०३ कित्ताका लागि मात्र आवेदन दिएका थिए ।
जसमध्ये १० अंकले भाग नजाने ३३ कित्ता सेयर रद्द गरी २ लाख ४८ हजार ४७० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीले स्थानीय बासिन्दालाई जारी गरेको ६ लाख ८१ हजार कित्ता सेयर बिकेको छैन ।
कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँको सेयर जारी गर्न लागेको छ । यसको अंकित मूल्य १०० रुपैयाँ भए पनि सर्वसाधारणले एक कित्ताका लागि ३६० रुपैयाँ ९० पैसा तिर्नुपर्नेछ । बुक बिल्डिङ विधिबाट सेयर जारी गर्दा सो मूल्य तय भएको हो ।
अब कम्पनीले बिक्रीका लागि छुट्याएको मध्येबाट २७ लाख ७६ हजार ७६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा न्यूनतम् ५० कित्ता र अधिकतम् १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
सर्वसाधारणले सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिन कम्तीमा १८ हजार ४५ रुपैयाँ छुट्याउनुपर्नेछ ।