• Menu

सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद छेडियो, २०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

नेपाल प्रफिट

२०८१ चैत ८, शुक्रबार १४:४५

सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद छेडियो, २०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

पर्सा  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई-मधेस जागरण अभियानमा सहभागी हुन वीरगन्ज पुगेका प्रचण्डले प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखेका हुन् ।

उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको उनको दाबी छ । मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको प्रचण्डले बताए ।

आर्थिक विकासलाई गति दिन र सुशासन कायम गर्न सरकारबाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो ।’ ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति प्रोत्साहन गरेको र राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी उनले गरे ।

यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगन्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गरे ।

संविधान निर्माणका क्रममा नै १० वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रस्ट पारिएको उनले उल्लेख गरे । अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेकाले संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे । त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई-मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी उनले गराए ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले समस्या र सुझाव राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, मधेस प्रदेशका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, विभिन्न तहका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीको उपस्थिति थियो ।