• Menu

तादी घ्याङफेदीमा जुट्यो लगानी, सिद्धार्थ बैंकसँग सवा अर्बको कर्जा सम्झौता

नेपाल प्रफिट

२०८१ चैत ६, बुधबार २२:०१

तादी घ्याङफेदीमा जुट्यो लगानी, सिद्धार्थ बैंकसँग सवा अर्बको कर्जा सम्झौता

काठमाडौं । एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंकबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

आयोजनाको कुल अनुमानित लागत १ अर्ब ६४ करोड रुपैयाँ छ । कुल लागतको ७५ प्रतिशतले हुने १ अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋणबाट व्यवस्थापन गर्नका लागि सिद्धार्थ बैंकसँग सम्झौता भएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । बाँकी २५ प्रतिशत रकम भने स्वपुँजीबाट व्यवस्थापन गरिनेछ ।

यो परियोजना अनुभवी प्रवर्द्धकहरूको समूहले विकास गरिरहेको छ । कम्पनीको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का महासचिव बलराम खतिवडा, सूचना प्रविधि क्षेत्रका हस्ती असगर अलीलगायत छन् ।

अध्यक्ष श्रेष्ठ नुवाकोटमा सञ्चालनमा रहेको बुद्धभूमि हाइड्रोपावरका पनि अध्यक्ष हुन् भने एटलस इनर्जी र ह्याप्पी इनर्जीमा पनि आबद्ध छन् । त्यस्तै खतिवडा पनि एबीपी इनर्जीका साथै सञ्चालनमा आइसकेको बुद्धभूमि हाइड्रोपवार, बराह मल्टिपावर, एटलस इनर्जीलगायतका कम्पनीका अध्यक्ष तथा निर्देशक हुन् । अली प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार हुन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित तादी घ्याङफेदी जलविद्युत आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट व्यावसायिक रुपमा विद्युत उत्पादन गर्नुपर्ने मिति २०८४ वैशाख ३१ तय गरिएको छ ।

आयोजना सञ्चालनमा आइसकेपछि हाइड्रो टुरिजमबाटसमेत आम्दानी गर्ने लक्ष्य लिइएको इप्पानका महासचिव एवं आयोजनाका निर्देशक बलराम खतिवडाले बताए । गोसाइँकुण्ड जाने ट्रेकिङ रुटमा आयोजना निर्माण हुने हुँदा आयोजनाले बनाएका क्याम्प हाउस होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधा दिन सकिने उनको विश्वास छ ।

आयोजनाका लागि २०७८ असार ३१ मा विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो । २०७८ भदौ २७ मा विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भएको थियो ।

३९०० मिटर पाइपलाइन रहेको आयोजनाको ४४६ मिटर हेड रहेको छ । डिजाइन डिस्चार्ज २.२ क्यूसेक रहेको छ । वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत उत्पादन गर्ने आयोजनाले वार्षिक २९ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । आयोजनाबाट सुक्खायाममा १५.९७ गिगावाट आवर र वर्षामा ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।