• Menu

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ सम्पन्न, पाँच विजेताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने

नेपाल प्रफिट

२०८१ फागुन १९, १५:०३

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ सम्पन्न, पाँच विजेताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ आइतबार सम्पन्न भएको छ । योङ इकोनोमिस्ट सोसाइटी नेपालले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको छैटौं संस्करण यस वर्ष ‘सविता ग्रुप होल्डिङ्स नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ नामकरणमा सम्पन्न गरिएको हो ।

फागुन १६ देखि १८ सम्म काठमाडौँको किङ्स कलेजमा चलेको ओलम्पियाडमा देशभरका सातै प्रदेशका १८७ शैक्षिक संस्थाबाट छनोट भएका १०० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आर्थिक समस्या समाधान गर्ने क्षमता, वित्तीय विश्लेषण र तार्किक क्षमताका आधारमा विजेता चयन गरिएको छ ।

नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा बुढानीलकण्ठ स्कुलबाट इशान शेखर खड्का, ट्रिनिटी इन्टरनेसनल कलेजबाट आवाज सिमखडा, समीप यादव र रोशन सेढाईं तथा रातो बंगलाबाट विज्ञान अधिकारीले गोल्ड मेडल जितेका छन् । उनीहरूले अजरबैजानको बाकुमा जुलाई २०२५ मा हुने ‘अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

गोल्ड मेडल विजेताहरूलाई राष्ट्रिय योजना आयोगका पूर्वसदस्यहरु तथा अर्थशास्त्री डा. विश्व पौडेलले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । पौडेलले प्रतियोगिताले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अवसरहरूको ढोका खोल्ने तथा भविष्यका नीति निर्माणकर्ताहरूका लागि यो महत्वपूर्ण मञ्च भएको उल्लेख गरे ।

यसैगरी, सेन्ट जेभियर कलेजका रघुवीर श्रेष्ठ, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका शिवम् मिश्र, सुदूरपश्चिमाञ्चल एकेडेमीकी नीतिका अवस्थी, जेभियर इन्टरनेसनल कलेजका अक्षत कार्ला र प्रिमियर इन्टरनेसनल कलेजका शुभम बजगाईंले सिल्भर मेडल जितेका छन् ।

सिल्भर मेडल विजेताहरूले अस्ट्रेलियाको सिड्नीमा युनिभर्सिटी अफ न्यु साउथ वेल्स र अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको तर्फबाट भाग लिनेछन् । उनीहरूलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा बिजनेस केस एनालाइसिस विधाका उत्कृष्ट विजेतालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । यस चरणमा विद्यार्थीले काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययनसम्बन्धी विश्लेषण प्रस्तुत गरेका थिए ।

ओलम्पियाडका दौरान राष्ट्र बैंकबाट मान्यता प्राप्त वित्तीय साक्षरता प्रशिक्षकहरूले वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण प्रदान गरेका थिए । साथै, राष्ट्रिय योजना आयोगका सदस्यहरूले अर्थशास्त्रसम्बन्धी विशेष लेक्चर तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय छात्रवृत्तिसम्बन्धी जानकारीमूलक सत्रहरू सञ्चालन गरेका थिए ।

नेपाल इकोनोमिक्स ओलम्पियाडका पार्टनरसिप निर्देशक दीपक भण्डारीले विद्यार्थीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नेमात्र नभई उनीहरूको वित्तीय साक्षरता, विश्लेषणात्मक क्षमता तथा नीति निर्माणमा योगदान पुर्‍याउन प्रतियोगिता महत्वपूर्ण प्लेटफर्म भएको बताए ।