• Menu

युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव  सहयोग गर्न कट्टिबद्ध : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ फागुन १८, १४:०९

युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव  सहयोग गर्न कट्टिबद्ध : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को विसं १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्रसूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताएका हुन् ।

‘तपाईहरुमाथि यहाँहरुको अभिभावकको मात्र आशा र सपनानिहीत नरही तपाईहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले सर्वोत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि सुरु गर्नुपर्दछ ।,’

सेवा दलका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमा हासिल गरेका ज्ञानले तपाईंहरुलाई उक्त कार्यको लागि अभिप्रेरित र सहयोग गर्ने विश्वास लिएको छु ।’

ओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रछात्रालाई शुभकामना दिँदै अरुलाई छिर्के लगाएर नभइ स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । सो अवसरमा भारत र माल्दिभ्सका एनसिसी र भूटान स्काउटका प्रमण्डलको पनि सहभागिता थियो ।

युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ २०२२ सालमा स्थापित सो सेवा दलले युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ ।

यस आर्थिक वर्षमा सो सेवा दलमा सात हजार सात सय चार छात्रछात्रा रहेकामा आगामी वर्ष एघार हजार पाँच सय ५० पुर्‍याउने लक्ष्य लिइएको छ । हालसम्म ८२ हजार एक सय ८४ व्यक्ति यस सेवा दलबाट दीक्षित भइसकेको बताइएको छ ।