काठमाडौं । कर्जा प्रवाहले खासै गति लिन नसकेपछि वाणिज्य बैंकले आधार दर झन् घटाएका छन् । तरलता योग्य रकम थुप्रिएका कारण बैंकहरुले निक्षेपको ब्याजदर घटाएका कारण लागत घटेर आधार दर पनि घटेको हो ।
फागुनका लागि तीनवटा वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा तल झरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेस्ट बैंकको आधार दर ६ प्रतिशतभन्दा तल आइपुगेको हो ।
त्यस्तै ११ वटा बैंकको आधार दर ६ देखि ७ प्रतिशतको बीचमा छ भने ६ वटा बैंकको ७ प्रतिशतभन्दा माथि छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ५.११ प्रतिशतमा झरेको छ भने एनआईसी एसियाको सबैभन्दा धेरै ७.५३ प्रतिशत छ ।
बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्न सक्छन् । तसर्थ, आधार दर घट्दा कर्जाको ब्याज स्वत: घट्छ । अहिले प्राय: बैंकहरुले अत्यन्तै न्यून ०.५ प्रतिशतभन्दा पनि कम प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका छन् ।
अहिले सबैभन्दा बढी आधार दर रहेको एनआईसी एसियाबाट कर्जा लिँदा पनि ८ प्रतिशतभन्दा बढी ब्याज पर्दैन । स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य र एभरेस्ट बैंकहरुबाट कर्जा लिँदा ऋणीलाई झन् सस्तो पर्छ ।
ब्याजदर घटे पनि कर्जाको माग भने बढ्न सकेको छैन । कर्जा बढ्न नसक्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) माघ मसान्तमा ७९.३५ प्रतिशतमा झरेको छ । राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३.९६ प्रतिशत छ भने स्ट्यान्डर्ड चार्टर्डको ६८.९७ प्रतिशत छ । आठ वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा तल छ ।
असार मसान्तको तुलनामा माघ मसान्तमा ग्लोबल आईएमई, एभरेस्ट, एनएमबीलगायत बैंकले उच्च दरमा कर्जा प्रवाह बढाए पनि एनआईसी एसिया, प्रभु, स्ट्यान्डर्ड चार्टर्डलगायतको वृद्धिदर ऋणात्मक छ । एनआईसी एसियाको ३२.८८ प्रतिशतले घट्दा चारवटा बैंकको कर्जा प्रवाह १० प्रतिशतभन्दा कम छ ।