काठमाडौं । एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स-२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो ।
‘यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक समर्पणलाई दर्शाउँछ,’ एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका छन् ।
यो अवार्ड कम्पनीले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको एनसेलले जनाएको छ । ‘एनसेल सधैं कर्पोरेट उत्कृष्टताका मापदण्डहरू कायम राख्न प्रतिबद्ध छ, जसले नेपालका व्यवसायिक जगतका लागि एउटा मापदण्ड स्थापित गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
एनसेलले राज्यलाई विभिन्न कर तथा शुल्क शीर्षकहरुअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ३२० अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान गरेको छ । त्यस्तै व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा २ अर्बभन्दा बढीका परियोजना सञ्चालन गरी आर्थिक सामाजिक विकासमा योगदान गरेको छ ।