काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । मंगलबार मौद्रिक नीतिको समीक्षापछि लगानीकर्ता बैंकिङ समूहमा आकर्षित हुँदा सेयर बजार परिसूचक नेप्से उल्लेख्य बढेको हो ।
बैंकिङ समूह सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले लोन लस प्रोभिजन दर १.१ बाट १ प्रतिशतमा झारेपछि नाफा बढ्ने अनुमानमा लगानीकर्ताले बैंकको सेयर उठाएका छन् ।
आज नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ अंकमा उक्लिएको छ । आज ५२ कम्पनीको सेयर मूल्य घटेको छ भने १८६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ६ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।
बिहीबार कारोबार रकम पनि बढेको छ । मंगलबार ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोड २४ लाखको सेयर किनबेच भएको छ ।
उत्पादन तथा प्रशोधन २.९१, लगानी १.२५, जलविद्युत १.८०, अन्य १.०१, म्युचुअल फन्ड ०.८८, होटल तथा पर्यटन १.१२ र जीवन बिमा ०.८१, विकास बैंक १.५३, निर्जीवन बिमा ०.७०, लघुवित्त ०.९१ र वित्त समूहको ०.२८ प्रतिशत मूल्य बढेको छ ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, दोर्दीखोला जलविद्युत, अपर हेवाखोला हाइड्रोपावर र सिन्धु विकास बैंकमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै लिबर्टी इनर्जी ९.९६, गुराँस लघुवित्त ९.२४, बोट्लर्स नेपाल ८.९९ आँखुखोला हाइड्रोपावरको ६.९८ प्रतिशत मूल्य बढेको छ ।