काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’ ६० प्रतिशत कायम गरेको छ भने असल कर्जाको विद्यमान नोक्सानी व्यवस्था दर घटेको छ ।
यसअघि असल कर्जाको नोक्सानी व्यवस्था दर १.१० रहेकोमा रहेकोमा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत ०.१० प्रतिशतले घटाएर १ प्रतिशत विन्दु कायम गरिएको छ । यो नीतिले बैंक तथा वित्तीय संस्थाको सञ्चालन नाफा बढ्नेछ ।
यसैगरी मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ । साथै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आaद्ध गरी तय गर्नुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ । हालसम्म लघुवित्तको कर्जाको ब्याजदरमा सीमा निर्धारण गर्दै आएको थियो ।
यस्तै मौद्रिक नीतिको समीक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गर्ने र नन् डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिने घोषणा गरिएको छ ।