• Menu

वीरगन्ज नाकाबाट सात महिनामा ४० अर्ब ३४ करोडको सामान निर्यात, गत वर्षको तुलनामा दोब्बर

नेपाल प्रफिट

२०८१ फागुन १५, ११:१०

वीरगन्ज नाकाबाट सात महिनामा ४० अर्ब ३४ करोडको सामान निर्यात, गत वर्षको तुलनामा दोब्बर

पर्सा । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झन्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।

मुलुकभर रहेका सानारठूला २८ भन्सार नाकामध्ये वीरगन्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१.७२ प्रतिशत रहेको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए । ‘गत आवको तुलनामा चालु आवमा निर्यातमा उत्साहजनक ढंगले वृद्धि हुँदै आइरहेको छ,’ उनले भने ।

वीरगन्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै सोही अवधिमा चार अर्ब ६३ करोड मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ ।

तीन अर्ब ९६ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तै गरी तीन अर्ब १२ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

एक अर्ब ६० करोड मूल्य पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड मूल्य बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड मूल्य पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।