• Menu

म्याग्दीको एउटै गाउँपालिकामा २३८ मेगावाटका १३ जलविद्युत आयोजना

नेपाल प्रफिट

२०८१ फागुन १३, १०:४५

म्याग्दीको एउटै गाउँपालिकामा २३८ मेगावाटका १३ जलविद्युत आयोजना
तस्बिर एआई

म्याग्दी । धवलागिरि गाउँपालिकामा २३८.२३ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार हालै मात्र ९०.५ मेगावाट क्षमताका दुईवटा आयोजना निर्माण सुरु भएका छन् । त्यस्तै ७१.५ मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा छन् । विद्युत् विकास विभागका अनुसार धवलागिरिको भूगोलमा थप ७६.२३ मेगावाट क्षमताका ९ वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

‘भिरपहरा छिचोलेर बनाइएका आयोजनाका कारण सडक सञ्जाल विस्तार हुनुका साथै यातायात सञ्चालन भई स्थानीयलाई आवतजावतमा सहज भएको छ । रोजगारी र आयआर्जनका अवसर सिर्जना भएका छन्, स्थानीयको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग भएको छ,’ उनले भने ।

दीर्घकालीन रूपमा आयोजनाबाट उत्पादित विद्युत् बिक्रीबाट प्राप्त हुने रोयल्टी (सलामी दरस्तुर) बाट गाउँपालिकामा पूर्वाधार निर्माण गरी नागरिकको सेवासुविधामा परिचालन गर्ने गाउँपालिकाले जनाएको छ । भदौदेखि निर्माण सुरु भएको म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी १ को १६.५ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

धवलागिरि गाउँपालिका ४ खाम्लामा रहने बाँधमार्फत ५.७ सय किमी सुरुङबाट ल्याउने पानीलाई मालिका गाउँपालिका ७ भारवाङमा बन्ने विद्युतगृहमा १९६ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए । उनका अनुसार २०८३ फागुन २१ देखि नियमित विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यस आयोजनाको लागत ११ अर्ब २३ करोड २७ लाख अनुमान गरिएको छ ।

हाइड्रोइम्पाएर प्रालि प्रवर्द्धक रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले धवलागिरि ४ सिम्कोस दोभानको बाँधबाट घिम्लेटी जोड्ने चार किमी लामो सुरुङ निर्माण सुरु गरिएको छ । आयोजना प्रमुख रमेश सुवेदीले २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिएको जानकारी दिए । आयोजनाको लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार अनुमान गरिएको छ ।

हाइड्रोभिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको धवलागिरि ४ जेल्तुङमा प्रस्ताव गरिएको विद्युतगृह निर्माणस्थल हालै सडक सञ्जालमा जोडिएको छ । खाम्लास्थित अपर म्याग्दी १ को बाँधबाट नाउँरा हुँदै बगर जोड्ने उक्त सडक छ किमी दूरीको छ ।

जेल्तुङबाट १२ किमी दूरीमा रहेको दोभानसम्म पहुँचमार्ग निर्माणलाई निरन्तरता दिने तयारी भइरहेको धवलागिरि ४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । धवलागिरि ३ मा ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणको तयारी गरेको छ ।

विद्युत् खरिद बिक्री सम्झौता, वित्तीय स्रोत, जग्गा व्यवस्थापनलगायत काम सकेर यही वर्षदेखि बाँध, पेनस्टक पाइपलाइन र विद्युतगृह निर्माण सुरु गर्ने तयारी भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए ।

विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको दरखोला जलविद्युत् आयोजनाको बाँध धवलागिरि ३ कुनौटो र सोही वडाको सोलवाङमा विद्युतगृह प्रस्ताव गरिएको छ । तीन किमी एक सय मिटर पेनस्टक पाइपलाइन रहने उनले जानकारी दिए ।

धवलागिरि ४ मुदीमा १४.७० मेगावाट क्षमताको मुदीखोला, २३.७० मेगावाट क्षमताको म्याग्दीखोला (ए), धवलागिरि १ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला र १४.७० मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागले सम्बन्धित प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको जनाएको छ ।

धवलागिरि ४ का अध्यक्ष यामबहादुर घर्तीले वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेका आयोजनाहरूले स्थलगत सर्वेक्षण, वित्तीय स्रोत व्यवस्थापन र विद्युत् खरिद बिक्री प्रक्रियामा रहेका जानकारी दिए ।

उनका अनुसार १४.७० मेगावाटको मुदीखोला, २० मेगावाटको कुनबानखोला, ३.४५ मेगावाट क्षमताको सिम्कोस, १२.७३ मेगावाट क्षमताको अपर मुदी, ९.५ मेगावाटको म्याग्दीखोला (बी) र ४.६ मेगावाट क्षमताको तिरिजाखोला जलविद्युत् आयोजना निर्माण र सर्वेक्षणका लागि विद्युत् विकास विभागबाट विभिन्न प्रवर्द्धक कम्पनीले अनुमति लिएका छन् ।

म्याग्दी नदी र सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका ७ डाँडाखेतमा सबस्टेसन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ ।

आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाँडाखेत सबस्टेसनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित १३३/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गर्न थालिएको जानकारी दिए ।

डाँडाखेतबाट रघुगंगा गाउँपालिका ३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारणलाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ ।

गण्डकी प्रदेशसभाका सांसद रेशमबहादुर जुग्जालीले २२० केभी क्षमताको दाना सबस्टेसन निर्माण र १३२ केभी क्षमताको डाँडाखेत-राहुघाट सबस्टेसन तथा प्रसारणलाइनको कामले गति लिन थालेपछि कालीगण्डकी, म्याग्दी, राहुघाट र सहायक नदीहरूमा जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको बताए ।