काठमाडौं । नेपाल सरकारले राखेका सबै सर्त मान्न टिकटक तयार भएको छ । टिकटकले सरकारलाई अर्को पत्र लेखेर सबै सर्त मान्न तयार रहेको जनाउँदै प्रतिबन्ध हटाउन आग्रह गरेको हो ।
टिकटकले नेपालको कानुनअनुसार चल्ने प्रतिबद्धता जनाउँदै आइतबार पत्र लेखेर प्रतिबन्ध फुकाइदिन आग्रह गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
टिकटकले समाजिक द्वेष फैलाएको र मर्यादा बिथोलेको भन्दै सरकारले कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले कात्तिक ३० मा नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।
प्राधिकरणले प्रतिबन्ध फुकुवा गर्न नसक्ने जनाएपछि मंसिर २० मा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै निर्णय फिर्ता लिन अनुरोध गरेको थियो । आइतबार फेरि सञ्चारमन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले अर्को पत्र लेखेको हो ।
टिकटकले पत्रमार्फत नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । ‘टिकटक नेपालमा व्यापार निरन्तरताका लागि ५ प्रमुख क्षेत्रमा थप काम गर्ने प्रतिबद्धता जनाउन चाहान्छ,’ पत्रमा भनिएको छ ।
टिकटकमाथि प्रतिबन्ध लगाउनुभन्दा केही दिनअघि सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी निर्देशिकामा सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नुपर्ने र सम्पर्क कार्यालय खोल्नुपर्ने जस्ता प्रावधान छ ।
पाँचबुँदे पत्रको पहिलो बुँदामा नै टिकटकले नेपालको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्न तयार रहेको बताएको छ । पत्रमा टिकटकले आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्टबारे नेपालको चासो वा प्रत्यक्ष सरोकार राख्न दिने र त्यसलाई सम्बोधन गर्न फोकल प्वाइन्ट (सम्पर्क बिन्दु) तोक्नेसमेत बताएको छ ।
नेपाली भाषाका सामग्री फिल्टर गर्न आवश्यक प्रबन्ध गर्नेसमेत प्रतिबद्धता टिकटकले जनाएको छ । टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि प्रतिबद्धता जनाएको छ ।
माघ २५ गते टिकटकका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर छलफल गरेका थिए । टिकटकले नेपालमा टिकटकको ‘सोसियल गाइडलाइन्स’ पालना भए/नभएको हेर्नमात्रै ६० जना जनशक्ति व्यवस्थापन गरिएको जानकारी मन्त्रालयलाई गराएको थियो ।
जवाफमा सञ्चार मन्त्री शर्माले कात्तिक २३ मा सरकारले जारी गरेको सामाजिक सञ्जालसम्बन्धी निर्देशिकाअनुसार नेपालमा ‘सम्पर्क विन्दु’ स्थापना गर्न आग्रह गरेकी थिइन् । चिनियाँ सरकारी अधिकारीले टिकटकमाथिको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।