काठमाडौं । क्यानडा र अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल (आईएलओ नेपाल) बीच ‘हेरचाह अर्थतन्त्र प्रवर्द्धनका लागि संवाद’ आयोजना भएको छ। नेपालमा ‘हेरचाह अर्थतन्त्र’को अवधारणा बुझाउनुका साथै सरकारी निकाय, विकास एजेन्सी र निजी क्षेत्रबीच सहकार्य बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा क्यानडा र आईएलओले नेपालमा हेरचाह अर्थतन्त्रलाई सुदृढ पार्न सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन् । आईएलओ नेपालका निर्देशक नुमान ओज्कानले सरकार, रोजगारदाता र कामदारबीचको साझा जिम्मेवारीमा जोड दिए । सन् २०२४ जुनमा अन्तर्राष्ट्रिय श्रम सम्मेलनले हेरचाह अर्थतन्त्रसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
हेरचाह कार्य मानव, सामाजिक र आर्थिक कल्याणको केन्द्रबिन्दु हो, जसले बालबालिका, वृद्धवृद्धा र आवश्यकतामा परेका व्यक्तिलाई सहयोग गर्छ । यसले स्वस्थ रोजगारी र उत्पादकत्व वृद्धि गर्छ तर हेरचाहकर्मीहरू विशेषगरी महिला कम ज्याला, कमजोर अवस्था र सामाजिक सुरक्षाको अभावसँग जुध्नुपर्छ ।
नेपालको १६औं राष्ट्रिय विकास योजनाले मर्यादित काम, रोजगारी र लैंगिक समानतालाई प्राथमिकता दिएको छ । कार्यक्रममा क्यानडा दूतावासका इयान ट्राइट्स र संयुक्त राष्ट्र संघ यूएन वुमनकी प्याट्रिसिया फर्नान्डेजले हेरचाह अर्थतन्त्रमा लगानी र समानताको महत्त्वमा जोड दिए । संवादले नीति, सीप विकास र सामाजिक सुरक्षामा ध्यान केन्द्रित गरेको छ ।