• Menu

‘नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक’

नेपाल प्रफिट

२०८१ फागुन ११, १४:४२

‘नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्डटेबलमा उनले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको बताए ।

अहिले पनि कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको, कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गर्दै उनले वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व र पुरानो प्रविधि जस्ता कुराहरुले नेपालले कृषिबाट आशातित सफलता हासिल गर्न नसकेको धारणा राखे ।

अध्यक्ष ढकालले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृंखला सुधार गर्ने, किसानलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायका लागि पुँजीमा पहुँच सुनिश्चित गर्ने कुरामा केन्द्रित फराकिलो दृष्टिकोणको आवश्यकता औंल्याए ।

ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउनुपर्ने उनले बताए । उनले आफूले व्यक्तिगत रुपमा पनि रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा वित्तीय सेवाहरू विस्तार गर्ने, किसान, महिला उद्यमी र साना व्यवसायलाई सशक्त बनाउने काम गरिरहेको स्पष्ट पारे ।

उनले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीमा लगानी गर्ने लक्ष्यका साथ महासंघको अगुवाइमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम अगाडि बढाइएको जानकारी गराए ।

नेपालको कृषि तथा अन्य विकास परियोजनाहरुमा विकास साझेदारहरूको सहयोगप्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार, विकास साझेदार र निजी क्षेत्रको सहकार्यमा जोड दिए ।