• Menu

आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

नेपाल प्रफिट

२०८१ फागुन ११, १३:५३

आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

काठमाडौँ । आपराधिक गतिविविधमा संलग्न भएको आरोपमा देशका विभिन्न भागबाट १३ जना पक्राउ परेका छन् । लागुपदार्थ बोकेको अभियोगमा सबैभन्दा धेरै पक्राउ परेका हुन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका-३२ मजुवा, कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ यात्रुगेट, बूढानीलकण्ठ नगरपालिका-१ तौलुङ र रूपन्देही, सैनामैना नगरपालिका-१ रानिबगिया चोकबाट गाँजासहित सात जनालाई शनिबार पक्राउ गरिएको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-१, टीकापुर नगरपालिका-७ बनगाउँ, सुनसरीको धरान उपमहानगरपालिका-१७ सिमी चोकबाट पाँच जनालाई खेरो हेरोइन तथा चिकित्सकको पूर्जीबिना विविध ठूलो परिमाणमा औषधिसहित पक्राउ गरिएको छ ।

साथै कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेपाखाका  ५९ वर्षीय मनबहादुर विकलाई दुई थान भरूवा बन्दुक र बारूदसहित नियन्त्रण्मा लिइएको छ । अभियुक्त सबैलाई कानुनी कारबाहीका निम्ति सम्बन्धित निकायमा पठाइएको जनाइएको छ ।