• Menu

वाणिज्य बैंकबाट ७ महिनामा अढाई खर्ब कर्जा प्रवाह, निक्षेपमा नेपाल इन्भेस्टमेन्ट र कर्जामा ग्लोबल आइएमई अगाडि

नेपाल प्रफिट

२०८१ फागुन ४, १२:१४

वाणिज्य बैंकबाट ७ महिनामा अढाई खर्ब कर्जा प्रवाह, निक्षेपमा नेपाल इन्भेस्टमेन्ट र कर्जामा ग्लोबल आइएमई अगाडि

काठमाडौं । सात महिनामा वाणिज्य बैंकहरुबाट २ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल बैंकर्स संघका अनुसार साउनदेखि माघसम्ममा ५.६२ प्रतिशतले कर्जा वृद्धि भएर ४५ खर्ब ७१ अर्बबाट ४८ खर्ब २८ अर्ब पुगेको हो ।

समीक्षा अवधिमा निक्षेप संकलन भने २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको छ । संघका अनुसार निक्षेप संकलन सात महिनामा ४.२१ प्रतिशतले बढेर ५७ खर्ब ५५ अर्बबाट ५९ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको छ ।

ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ४०.५७ प्रतिशतले कर्जा प्रवाह बढाएको छ । बैंकले सात महिनामा कर्जा प्रवाह ३ खर्ब ९० अर्बबाट बढाएर ४ खर्ब ३१ अर्ब पुर्‍याएको हो ।

एभरेस्ट बैंकले ३४.३२ प्रतिशत, एनएमबी बैंकले २७.४६ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २३.४८ प्रतिशतले कर्जा प्रवाह बढाएका छन् । तीन वटा बैंकको कर्जा भने घटेको छ । एनआईसी एसिया बैंकले ३२.८८ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७९ र प्रभु बैंकको १.५८ प्रतिशतले कर्जा घटेको छ ।

निक्षेप संकलन सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४०.८७ प्रतिशतले बढाएको छ । बैंकको निक्षेप सात महिनामा ४ खर्ब ६ अर्बबाट बढेर ४ खर्ब ४७ अर्ब पुगेको हो । त्यस्तै नबिल बैंकले ३०.७८, एभरेस्ट बैंकले २७.७२, ग्लोबल आइएमईले २४.३१ र प्राइम बैंकले २३.२८ प्रतिशतशले बढाएको छ । अन्य बैंकहरुको कर्जा तथा निक्षेप संकलन स्थिति सामान्य छ ।