• Menu

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला, पहिलो दिन नै सयौंले दिए आवेदन

नेपाल प्रफिट

२०८१ फागुन २, शुक्रबार १९:०७

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला, पहिलो दिन नै सयौंले दिए आवेदन

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृत्ति मेला सुरु भएको छ। मेलाको पहिलो दिन नै विभिन्न रोजगारदाताहरुको स्टलमा आएर सयौं नगरवासीले रोजगारीका लागि आवेदन दिएका छन् ।

नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न व्यावसायिक संस्था तथा रोजगारदाताहरुले राखेका स्टल र अनलाइनमार्फत नगरबासीले आवेदन दिएका छन् । भोलि फागुन ३ मा पनि इच्छुक बेरोजगार नगरवासीले ९ बजेपछि नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।

मेला उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले यस्ता मेलाले रोजगारदाता र बेरोजगार युवालाई जोड्ने बताइन् । त्यस्तै नगर प्रमुख मिठाराम अधिकारीले युवालाई रोजगारी दिलाउन मेला विगतदेखि नै फलदायी भएको धारणा राखे ।

विगतका मेलाहरुमा परामर्श र रोजगार प्रवर्धनलाई जोड दिएको नगरपालिकाले यसपटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताको स्टलमै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

‘शिक्षा, सीप र उद्यमशीलता : रोजगारी हाम्रो प्राथमिकता’ भन्ने नारासहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गरिएको छ । रोजगारी तथा वृत्ति कार्यक्रमअन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हाइवेयर तालिम प्रदान गरिएको छ । यसैगरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ ।

रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइएको छ । शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यसले सयौँ रोजगारदाता र बेरोजगार युवाबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ ।

मेलामा ४२ स्टल छन् । जसमध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सीप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवर्धक र बाँकी ६ वटा विविध विषयका स्टल छन् । मेलाको २५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।