रुपन्देही । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौताबमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध व्यवसायी र यसमा आबद्ध बसमा नेपालभर यात्रा गर्ने यात्रुले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन् ।
यात्रुले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसमा यात्रा गरेको टिकट देखाएर ३ महिनाभित्र २० प्रतिशत छुट सुविधा लिन सक्नेछन् । सम्झौता पत्रमा लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसायी सञ्चालक समितिका तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन छ । केबलकारको टप स्टेसनमा माँ कामाख्याको मन्दिर छ ।
केबलकारको यात्राबाट एकैसाथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी नेपालको पुरानो र ठूलोमध्येको एक व्यावसायिक संस्था हो । कम्पनीअन्तर्गत हाल २ हजार ३०० भन्दा बढी बस सञ्चालनमा छन् । कम्पनीले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरूका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई पनि लक्षित गरी बस सेवा सञ्चालन गर्दै आएको छ ।