• Menu

पत्रकार ललित सिंहमाथि सांघातिक आक्रमण, घटनाको सर्वत्र निन्दा

नेपाल प्रफिट

२०८१ माघ २९, १३:५२

पत्रकार ललित सिंहमाथि सांघातिक आक्रमण, घटनाको सर्वत्र निन्दा

बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष एवं साइपाल डटकमका सञ्चालक ललितबहादुर सिंहमाथि सांघातिक आक्रमण भएको छ । सदरमुकाम चैनपुर बजारबाट सोमबार राति कोठातर्फ फर्किंदै गरेका जबर्जस्ती होटलमा पुर्‍याएर चक्कु प्रहार तथा कुटपिट गरिएको हो ।

घटनाको श्रमजीवी पत्रकार संघ बझाङ, नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ बझाङ शाखालगायतले भर्त्सना गरेका छन् । श्रमजीवी पत्रकार संघ बझाङका अध्यक्ष भूमिराज पिठातोलीले विज्ञप्तिमार्फत सिंहमाथिको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको उल्लेख गरेका छन् ।

कुनै विषयमा असहमति भए कानुनी बाटो अपनाउनुपर्नेमा ज्यान लिने प्रयास गर्नु आपराधिक कार्य भएको संघले जनाएको छ । पत्रकारमाथि भौतिक आक्रमण हुँदा नागरिकमा त्रास फैलिएको उल्लेख गर्दै संघले दोषीलाई कडा कारबाही गर्न र स्वतन्त्र पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्न सरकार तथा प्रशासनसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघले पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ । मस्टा गाउँपालिका-४ का विनोद कठायतलगायतको समूहले कुरा गर्नु छ भनी देवीस्थान होटलको कोठामा बोलाएको र भोलि कुरा गरौँला भन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठामा लगेर चुकुल लगाएर अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेको सिंहले बताएका छन् ।

‘जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको छ,’ महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ बझाङ शाखाले पनि घटनाको निन्दा गरेको छ । ‘कानुनी राज्यको उपहास हुनेगरी सञ्चारकर्मीमाथि गरिएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न संघले माग गरेको छ ।

संघका सचिव प्रताप ओलीद्वारा जारी विज्ञप्तिमा यस किसिमका आक्रमणबाट स्वतन्त्र पत्रकारितालाई धम्क्याउन गरिएका प्रयास कदापी स्वीकार्य नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्