सर्लाही । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आवश्यकताका कारण प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेससँग मिल्नुपरेको प्रस्टीकरण दिएका छन् । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले सोमबार आयोजना गरेको वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले विगतमा पनि आवश्यकताअनुसार ठूला पार्टीहरु मिल्ने र प्रतिस्पर्धा गर्ने गरेको उदाहरण दिए ।
‘हामीलाई कांग्रेससँग प्रतिस्पर्धा गर्ने पो हो किन मिलेको भनेर प्रश्न गर्नेहरु छन्,’ उनले भने, ‘ठूला पार्टीहरु खास अवस्थामा मिलेका पनि छन् र स्वस्थ प्रतिस्पर्धा पनि गरेका छन् । मुलुकमा समस्या आउँछ मिल्छन्, जुन विगतदेखि नै हुँदै आएको छ । प्रतिस्पर्धा र सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’
वि.सं. २००७ सालमा पनि पार्टीहरु मिलेको उनले बताए । त्यस्तै, २०१७ सालमा, २०४६ सालमा, २०६२ सालमा र संविधान जारी गर्दा पनि पार्टीहरु मिलेको पोखरेलको तर्क छ । ‘आज पनि अराजकता मौलाउने, राष्ट्रियता खतरामा पर्ने, राष्ट्रविरोधीहरु सल्बलाउँदा र विदेशी हस्तक्षेप बढ्दा हामी मिल्नुपर्ने अवस्था आएको हो,’ उनले भने ।
आगामी चुनावमा राष्ट्रियता बलियो बनाउन र जनताको हितमा काम गराउन पनि नेकपा एमालेलाई जिताउन जरुरी रहेको उनले बताए । म्याजिक नम्बरवालालाई साइजमा राख्न एमाले बलियो र शक्तिशाली हुन जरुरी रहेको दाबी उनले गरे ।
‘दुई ठूला जनसंख्या भएका शक्तिशाली मुलुकको बीचमा रहेर आफ्नो देशको विकास गर्दै अगाडि बढ्न पनि एमाले राष्ट्रिय र निर्णायक शक्ति बन्नुपर्छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने । नेपालमा भएको परिवर्तन यहाँको मौलिक परिवर्तन भएको र चीन, रुस तथा अरु देशको भन्दा फरक भएको उनको तर्क छ ।
कार्यक्रमलाई संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज हरि उप्रेतीलगायतले पनि सम्बोधन गरेका थिए ।