काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको उद्घाटन कार्यक्रममा एआईजी थापालाई शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्रसहित सम्मान गरेका हुन् ।
एआईजी थापाले उपत्यका प्रहरी प्रमुख र डीआईजीको कार्यकालमा प्रशासन प्रमुख रहँदा नेपाल पुलिस क्लबलाई अन्तर्राष्ट्रिय स्तरको क्लब तथा कार्यक्रम स्थलका रूपमा विकास गर्न भूमिका खेलेका थिए । उनी हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् ।
थापासँगै प्रा. डा. धनश्याम भट्टराई, प्रा. डा. शंकर थापा तथा प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर रामकुमार चौधरी लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानसिक हिसाबले स्वस्थ र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने बताए । नेपाल प्रहरीले जनताको अपेक्षाअनुरूप सेवा प्रवाह गर्नुपर्ने तथा कुनै प्रभाव, भनसुन र दबाबमा नपरी संविधान एवं कानुनबमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसम्मत् ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।