• Menu

भारत र चीनलाई सडक सञ्जालले जोड्दै गण्डकी

कालिगण्डकी करिडोरको बेनी-कोरला खण्डमा १२ पुल निर्माण, २०२ किमी सडकको ८४ प्रतिशत भौतिक प्रगति

नेपाल प्रफिट

२०८१ माघ २७, १०:३५

कालिगण्डकी करिडोरको बेनी-कोरला खण्डमा १२ पुल निर्माण, २०२ किमी सडकको ८४ प्रतिशत भौतिक प्रगति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङका तीनवटा मोटर चल्ने पुल निर्माण भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय मुस्ताङले घरपझोङ गाउँपालिका-२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

आयोजनाका प्रमुख ध्रुवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेको जानकारी दिए । उनका अनुसार मार्फाखोलामा १२० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि ६ वर्षअघि हिमदुङ एन्ड थोकर इमोटल कन्स्ट्रक्सनले २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

त्यस्तै चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि २०७५ असार २९ गते १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो । पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर-दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्ट (राजु)ले बताए ।

पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्ने हुन्छ । तीमध्ये १९ वटाको ठेक्का लागेकोमा १२ वटाको निर्माण सकिएको छ भने दुईवटा निर्माणाधीन छन् । पाँचवटा पुल निर्माणको प्रक्रियामा छन् ।

आयोजनाका अनुसार पाँच वटा पुलको ठेक्का लागेर पनि तोडिएको छ । २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।