काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ ।
मन्त्रालयले उक्त निर्देशिका स्वीकृत गर्दै चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र नभएका सूर्तीजन्य पदार्थ उत्पादन, दरिखबिक्री गर्न नपाउने जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्देशिका स्वीकृत गर्दै आगामी भदौ १ गतेदेखि सूर्तीजन्य पदार्थको बट्टामा अनिवार्य रूपमा सतप्रतिशत घातक चित्र छाप्नुपर्ने नियम कार्यान्वयनमा आएको बताउँदै सबैले उक्त नियम पालन गर्न र गराउन समन्वय गर्नुपर्नेमा जोड दिए । स्वीकृत भएको मितिले एक सय ८०औँ दिनदेखि लागू हुने निर्देशिकामा उल्लेख छ ।
यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था थियो । विभिन्न अध्ययनले कतिपय देशमा यस्ता चेतावनीमूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने देखाएकाले नेपालमा पनि सतप्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
उनले नेपालमा यस्तो चेतावनीले काम गरिरहेकामा संशोधित निर्देशिकाले सूर्ती तथा चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य घातक रोगमा कमी आउने अपेक्षा गरिएको बताए । उनका अनुसार नेपालको तथ्यांक हेर्ने हो भने वार्षिक ३७ हजारको सूर्तीजन्य पदार्थको सेवनबाट ज्यान जाने गर्दछ ।
सूर्तीजन्य पदार्थ सेवनको असरबाट भएको घातक, रंगीन चित्र प्रष्ट रूपमा बुझ्ने र देख्नेगरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
घातक रंगीन चित्र र चेतावनीमूलक सन्देशमूलक चुरोट, बिँडी, खैनी, सूर्ती र गुट्खा जस्ता सूर्तिजन्य पदार्थको भित्री र बाहिरी बट्टा, प्याकेट, र्यापर्स, पेटी, पार्सल र प्याकेजिङ्गमा छाप्नु तथा अंकित गर्नुपर्नेछ ।